सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने बताएका छन् । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा मन्त्री लम्सालले पत्रकारसँग प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताए ।
मन्त्री लम्सालले कालोपत्र गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडकखण्डको निर्माणसमेत अगाडि बढाइने जानकारी दिए ।
लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको सडक आयोजना पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको मन्त्री लम्सालको भनाइ छ । सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, पाल्पा, बागलुङलगायत जिल्लाका नागरिकलाई आवागमनमा सहजता पुग्ने तथा ढोरपाटनसम्मको पहुँच थप सहज बन्ने अपेक्षा गरिएको छ ।
उनले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत दिए । सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने यो सडकलाई रणनीतिक महत्त्वको सडकका रूपमा हेरिएको छ ।
१९७ किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने भएकाले पर्यटन, व्यापार, कृषि, सेवा र रोजगारीका दृष्टिले यसको महत्त्व बढ्दै गएको छ ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना आर्थिक वर्ष २०६६/६७ मा स्थापना भएको हो । आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा १८ किलोमिटर मात्रै कालोपत्र सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा थप ४.५ किलोमिटर र आर्थिक वर्ष २०८२/८३ मा थप २४ किलोमिटर सडक कालोपत्र गरिएको छ । यससँगै हालसम्म ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
-
पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
-
दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव
-
बालेनलाई मनीष झाको जवाफ : ‘सरकार एक्लो छैन, हामी साथमै छौँ’
-
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री


प्रतिक्रिया