स्वदेश फर्किएका देउवाले भनेः ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झण्डै साढे पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचारका लागि गएका देउवा लामो विदेश बसाइपछि नेपाल फर्किएका हुन्। उनको विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरिएको थियो।
स्वदेश फर्किएपछि देउवाले विज्ञप्ति जारी गरी आफू ‘विनम्र सेवक’का रूपमा नेपाल फर्किएको बताएका छन्। उनले आफूलाई स्वास्थ्य उपचारका क्रममा शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति धन्यवादसमेत दिएका छन्।
देउवाले नेपाली कांग्रेसको लोकतान्त्रिक संघर्ष, पार्टीका अग्रज नेताहरूको योगदान र आफ्नो लामो राजनीतिक यात्रालाई स्मरण गर्दै कांग्रेसको विरासतलाई गौरवको विषय मात्र नभई जनताप्रतिको जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।
युवा पुस्ताले माग गरेको परिवर्तनलाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको स्मरण गरेका छन्।
‘परिवर्तनको अर्थ विगत खराब थियो भन्ने होइन’ भन्दै देउवाले लोकतन्त्र, स्वतन्त्रता, अधिकार र राज्यको प्रणाली निर्माणमा अघिल्लो पुस्ताले गरेको संघर्षलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। विगतका कमजोरी स्वीकार गर्दै सबै पक्ष मिलेर समुन्नत मुलुक निर्माणमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
वर्तमान सरकारप्रति संकेत गर्दै देउवाले जनतामा देखिएको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन्। जनताको मतको सम्मान गर्दै अघि बढ्न आग्रह गर्दै उनले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनताको आकांक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले नेपाली कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेका छन्। विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरण अघि बढाउनुपर्ने उनको भनाइ छ।
कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै देउवाले पार्टी एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताएका छन्। संविधान संरक्षण तथा आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने उनको धारणा छ।
ताजा अपडेट
-
नापजाँच सकिएको ४ वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
-
सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन
-
स्वदेश फर्किएका देउवाले भनेः ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
-
किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति
-
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै


प्रतिक्रिया