NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १५ गते

बाढीले ध्वस्त त्रिभुवन त्रिशूली माविको बसमा तोडफोड

काठमाडौं । बाढीले बगेको नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको बसमा तोडफोड भएको छ ।

गत बुधबार आएको बाढीले ध्वस्त भएको विद्यालयको २ वटा स्कुल बस बचेका थिए । तीमध्ये एक बसमाथि गएराति तोडफोड भएको हो । भारत सरकारले सहयोग स्वरूप उपलब्ध गराएको उक्त बसको पछाडिको भागको सिसा फुटेको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विदुर नगरपालिका–९, कोलनी पलास्टर एरियामा पार्किङ गरी राखिएको बसमाथि गएराति तोडफोड गरिएको जनाएका छन् ।

यस्तो अवस्थामा सुरक्षा सबैको दायित्व भएकाले धेरै रिस नगर्न उनले आग्रह गरेका छन् ।

‘त्रिभुवन त्रिशूली मा.वि.को भौतिक सम्पत्तिको रूपमा वाचेका २ वटा बसमध्ये आज राति विदुर–९ कोलनी पलास्टर एरियामा पार्किङ गरी राखेको बसमा ढुङ्गा हानेर यस्तो हालत बनाइएको छ । यस्तो अवस्थामा सुरक्षा सबैको दायित्व हो भन्ने बुझौं । धेरै रिस नगरौं,’ दवाडीले फेसबुकमा लेखेका छन् ।

गत बुधबार भोटेकोशी हुँदै त्रिशूलीमा प्रवेश गरेको बाढीले ठूलो धनजनको क्षति गराउँदा त्रिशूलीस्थित नदी किनारामा रहेको यो विद्यालय पनि ध्वस्त भएको थियो । विद्यालयमा करिब १ हजार ६०० विद्यार्थी अध्ययनरत रहेकोमा विद्यालयको सुझबुझका कारण विद्यार्थीलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरिँदा ठूलो मानवीय क्षति टरेको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष