NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १६ गते

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौंडा । ‘भरे कुरा गरौंला ।’ गत बुधबार बिहान करिब ६ः०० बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो। यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन्।

त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो। बाढीको खबर पाएपछि रविनाले श्रीमानलाई फोन गरिन्। फोन उठेन । पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। बिहान ‘भरे कुरा गरौंला’ भनेर छुट्टिएको त्यो संवाद नै उनीहरूबीचको अन्तिम बन्न पुग्यो।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए। एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते आइतबार काममा फर्किएका थिए।

सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार आइतबार घरबाट हिँडेका उनी काठमाडौं बसेर मङ्गलबार मात्रै रसुवा पुगेका थिए। बुधबारदेखि काम सुरु भएको थियो। “घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । पाँच-छ दिन हुने बित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,” उनले भनिन्, “मङ्गलबार मात्रै रसुवा पुगेको थियो रे। त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे। एकैछिनमा सबै सकियो।”

“घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । पाँच-छ दिन हुने बित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,” उनले भनिन्, “मङ्गलबार मात्रै रसुवा पुगेको थियो रे। त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे। एकैछिनमा सबै सकियो।”

सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो। त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले। अन्ततः सोमबार नवलपरासीमा फेला परेको एउटा शवसँग परिवारको खोजी टुङ्गियो। शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो। परिवारका लागि सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु।

भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युले हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको जानकारी दिए। सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन्। परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन्।

सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौंडा उपमहानगरपालिका–५ ढुङ्गेधारामा अर्को परिवार पनि उस्तै बेचैनीमा थियो। दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए। छोरीलाई विद्यालय जान सहज होस् भनेर विद्यालय नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका थिए।

भदौ १० गते बिहान भोटेकोशीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि हेटौंडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाले। उद्धवको फोन लागेन। पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन। केही समयका लागि तीनै जना बेखबर भए। भदौ ११ गते हेटौंडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो।

दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए।

सडक अवरुद्ध भएकाले टोली काठमाडौंमै रोकियो। काठमाडौंका विभिन्न अस्पतालमा खोजी गर्दा उनीहरूबारे जानकारी नभेटिएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो। त्यहाँ नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेकाहरूको सूचीमा दुई नाम भेटिए। निरू खड्का र निमिसा खड्का। आमा–छोरी जीवित थिए। उनीहरूको उद्धारपछि हेटौंडा ल्याउने व्यवस्था मिलाइयो । निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा होलान् भन्ने परिवारको आशा थपिएको थियो तर उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन। परिवारका सदस्य अस्पतालदेखि सम्भावित स्थानसम्म खोज्दै हिँडे। अन्ततः भदौ १२ गते नवलपरासीमा उनको शव फेला पर्‍यो ।

हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार कामको व्यस्तताका कारण उद्धव सातामा एक दिन जति मात्रै परिवारसँग बस्न कोठामा आउने गर्थे। बाढी आउँदा उनी काममा थिए। कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाएका थिए। “उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन्। छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,” वडाध्यक्ष घिमिरेले भने, “त्यो दिन बिहान एक्कासी बाढी आयो। श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन्।” निरू र निमिसा जीवितै हेटौंडा फर्किए। उद्धव भने फर्किएनन्।

सविन चार वर्षदेखि र उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहेका थिए । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्रै रसुवा पुर्‍याएको थियो। त्यसअघि हेटौंडा–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत सुमन रसुवामा हाइड्रोपावरको स्काभेटर चालकका रूपमा काम गर्थे।

“उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन्। छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्”

बाढी आएको बिहान उनी रातिको काम सकेर फर्किएका थिए। बिहान करिब ६ः०० बजे श्रीमती रेविकासँग फोनमा कुरा गरे। रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताएका थिए। सुमनकी छिमेकी निर्मला घलानका अनुसार त्यो फोनपछि श्रीमतीसँग उनको फेरि कुरा हुन पाएन। “राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा गएको थियो,” उनले भनन्, “नाइट ड्युटी सकेर बिहान श्रीमतीसँग कुरा गरेको रहेछ। रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौंला भनेको थियो रे। बिहानै बाढीले बगाएछ।”

बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटक–पटक फोन गरेको थियो। सम्पर्क हुन सकेन। निर्मलाका अनुसार सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीमा बाढी आउँदा उनी सुतिरहेका थिए। साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको उनले बताइन्। परिवारको प्रतीक्षा अन्ततः सुखद रहेन। सुमनको शव पनि नवलपरासीमा फेला पर्‍यो। उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन्।

सविन, उद्धव र सुमनका घर फरक थिए। रसुवा पुगेको समय फरक थियो। जिम्मेवारी पनि फरक थिए। तर तीनै जनालाई घरबाट टाढा पुर्‍याउने कारण एउटै थियो। रोजगारी। त्यही रोजगारीले तीनै जनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो। बाढी आउनुअघिसम्म तीनै जनाको परिवारसँग सम्पर्क थियो। सविनले श्रीमतीलाई ‘भरे कुरा गरौंला’ भनेका थिए। सुमनले रातिको कामपछि अहिले सुत्ने र दिउँसो फोन गर्ने बताएका थिए। उद्धवको पनि परिवारसँग अघिल्लो दिनसम्म कुराकानी भइरहेको थियो। त्यसपछि फोनहरू लाग्न छाडे।

सविन, उद्धव र सुमनका घर फरक थिए। रसुवा पुगेको समय फरक थियो। जिम्मेवारी पनि फरक थिए। तर तीनै जनालाई घरबाट टाढा पुर्‍याउने कारण एउटै थियो। रोजगारी। त्यही रोजगारीले तीनै जनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो।

परिवारले सुरुमा फोनको प्रतीक्षा गरे। त्यसपछि उद्धार गरिएकाहरूको सूचीमा नाम खोजे। अस्पताल पुगे। शव राखिएका स्थानसम्म आफ्ना मान्छेको खोजी गर्दै हिँडे। उद्धवको परिवारले निरू र निमिसालाई जीवित भेटेपछि उनी पनि फर्किने आशा राखेको थियो। सविनको परिवारले भने अन्ततः अनुहारबाट समेत चिन्न नसकिएको शवलाई हातको ट्याटुबाट पहिचान गर्नुपर्‍यो।

रोजगारीका लागि घर छाड्दा तीनै जनासँग घर फर्किने योजना थियो। सविन केही दिनअघि मात्रै बिदा छोट्याएर काममा फर्किएका थिए। सुमन दुई महिनाअघि राम्रो कमाइको आशामा रसुवा पुगेका थिए। उद्धवले पत्नी र छोरीलाई समेत आफूसँग राखेर त्यहीँ परिवारको भविष्य बनाउने प्रयास गरेका थिए। भोटेकोशीको एक बिहानले ती योजना अधुरै छाडिदियो। फेरि फोन गर्ने भनेर छुट्टिएका सविन र सुमनको फोन आएन। उद्धवलाई पर्खिरहेकी पत्नी र छोरी आफै बाढीबाट जोगिएर फर्किए, उनी फर्किएनन्। रोजगारीका लागि घरबाट निस्किएका तीनै जनाको खोजी अन्ततः घर फर्किने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुङ्गियो।

ताजा अपडेट

नेपालवाच विशेष