बाढीपछि मनास्लु र लार्केपास पदयात्रा रोक्न प्रशासनको आग्रह
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो।
आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएको प्रशासनले जनाएको छ। बाढीले चुमनुब्री–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुल बगाएको हो।
पुलहरू बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको र यात्राका क्रममा जोखिम बढ्न सक्ने भन्दै प्रशासनले पदयात्रा रोक्न आग्रह गरेको हो।
प्रशासनले पदमार्ग क्षेत्रमा कुनै विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ।
ताजा अपडेट
-
बाढीपछि मनास्लु र लार्केपास पदयात्रा रोक्न प्रशासनको आग्रह
-
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
-
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती
-
वीरगञ्जको क्यासिनोमा छापा, गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना पक्राउ


प्रतिक्रिया