NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २२ गते

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि सेप्टेम्बर २४ अर्थात् असोज ८ गते सम्बोधनको समय निर्धारण गरेको हो।

न्यूयोर्कस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेपछि अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्यूयोर्कस्थित नेपाली नियोगबाट प्रधानमन्त्री शाहको सम्बोधन असोज ८ गतेका लागि तय भएको जानकारी प्राप्त भएको हो।

संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमा हुने ८१औँ महासभामा हालसम्म ११८ देशका प्रतिनिधि सम्बोधनका लागि सूचीकृत भइसकेका छन्। अधिकांश देशबाट राष्ट्रप्रमुख, सरकारप्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूका अनुसार भोटेकोशी विपद्पछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्ने तयारी गरिएको हो। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सम्बोधन गर्ने तयारी गरिरहेका थिए।

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा विशेषगरी विश्वव्यापी तापक्रम वृद्धिका कारण बढ्दै गएका विपद्, जलवायु न्याय र क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका असर र विपद्बाट हुने क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेको अधिकारीहरूले बताएका छन्।

भोटेकोशी विपद्पछिको उद्धार तथा राहत कार्य जारी रहेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकेसम्म छोटो बनाउने तयारी छ। न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले गर्ने द्विपक्षीय तथा साइडलाइन भेटवार्ताको संख्या भने अहिलेसम्म टुंगो लागेको छैन।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। प्रधानमन्त्री बनेयता उनले कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन्। न्यूयोर्कमा रहँदा सम्भव भएसम्म अमेरिका, चीन र भारतका नेताहरूसँग भेटवार्तालाई प्राथमिकता दिने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भने निश्चित भइसकेको छैन।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा रहने भए पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने कार्यक्रम छैन। त्यसैले न्यूयोर्कमा प्रधानमन्त्री शाहको भारत र चीनका सरकारप्रमुखसँग भेटवार्ता हुने सम्भावना न्यून देखिएको छ।

प्रधानमन्त्री शाह महासभामा सहभागी हुने भएपछि परराष्ट्रमन्त्री खनाल पनि नेपाली प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुनेछन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार हालको तयारीअनुसार प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने र परराष्ट्रमन्त्री खनालले न्यूयोर्कमा हुने अन्य द्विपक्षीय तथा साइडलाइन बैठकको नेतृत्व गर्ने सम्भावना छ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार शाहको भ्रमण दलमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहनेछन्। त्यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघीय मामिला महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल पनि प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा रहने अपेक्षा गरिएको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापा पनि नेपाली प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन्।

ताजा अपडेट

नेपालवाच विशेष