जेन–जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको पूर्ण उपचार, उनीहरूको परिवारको हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले यस दिनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।
लामिछानेले युवा पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृतिका रूपमा लिएका छन्। उनले भने, यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशमा भविष्य खोज्ने पुस्ता हो, जसलाई कुशासन स्वीकार्य छैन।
उनले जेन्जी आन्दोलन पूर्णतः स्वस्फूर्त भएको बताउँदै कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो संकुचित स्वार्थका लागि प्रयोग गर्न नहुनेमा जोड दिएका छन्। उनले थपे, हिजो सडकबाट युवाहरूले उठाएका प्रश्नहरूको जवाफ दिने ठाउँमा आज हामी छौँ, र हामीसँग पनि जवाफ माग्न भोलि अरू कोही उभिनेछन्।
लामिछानेले रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा गर्न युवाहरूलाई आग्रह गरेका छन्। उनले भने, आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिऔँ। नागरिकको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्। उनले विज्ञप्तिमार्फत दृढ संकल्प व्यक्त गर्दै भनेका छन्, त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ।
ताजा अपडेट
-
ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
-
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
-
जेन–जीपछिको एक वर्ष : सुधारदेखि सुरुङ युगसम्म
-
जेन–जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने
-
इजरायलमा नेपाली कामदारका लागि १ हजार ४६४ जनाको माग


प्रतिक्रिया