युएईलाई नेपालले दियो ३१४ रनको लक्ष्य
काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए।
यस्तै, गुलशन झाले आक्रामक अर्धशतक प्रहार गर्दै ५२ रन जोडे। अर्जुन कुमालले ४३, रोहित पौडेलले ४० र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए। बसिर अहमद १५ रनमा अविजित रहे।
बलिङतर्फ युएईका इबरार अहमदले सर्वाधिक चार विकेट लिए। खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले समान एक विकेट लिए।
फाइनलको विजेताले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको फाइनल उपाधिसँगै एसिया कपको टिकट सुरक्षित गर्ने महत्वपूर्ण अवसर बनेको छ।


प्रतिक्रिया