कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, भोलिबाट पूर्णरूपमा सवारी सञ्चालन हुने
काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ट्रयाक खोल्ने काम सकिएसँगै भोलिबाट उक्त सडकखण्डमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछन् ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएका थिए । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका लागि आवश्यक कामलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।
करिब ३०० मिटर लामो नयाँ ट्रयाकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ । सडक र नालीसहितको संरचनाको कुल चौडाइ करिब साढे सात मिटर रहेको छ ।
ट्रयाक निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो । निर्माण कार्यमा करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर खटिएका थिए ।
ग्रेडर, रोलर र एक्साभेटरसहित ५–६ वटा हेभी इक्युपमेन्ट प्रयोग गरी ट्रयाक खोल्ने काम सम्पन्न गरिएको हो ।


प्रतिक्रिया