काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट बरामद भएको झण्डै २२ किलो सुन चिनियाँ नागरिकको रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बूढानीलकण्ठ क्षेत्रमा अपरेसन चलाएर ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको कारोबार गर्दै आएका थिए।
प्रहरी स्रोतका अनुसार विभिन्न स्वरूपमा तस्करी गरेर ल्याइएको सुन उक्त घरमा पगाल्ने तथा विभिन्न आकारमा तयार पार्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद सुनमध्ये केही ढिक्का अवस्थामा र केही झोल अवस्थामा रहेको प्रहरीले जनाएको छ। बरामद सुनको यकिन तौल निर्धारण गर्ने काम भइरहेको छ। प्रारम्भिक विवरणअनुसार सुनको मात्रा २१ किलोभन्दा बढी र २२ किलोभन्दा केही कम रहेको प्रहरी स्रोतको भनाइ छ।
प्रहरीले बिहीबार दिउँसो सुन रहेको सूचना पाएपछि बूढानीलकण्ठ क्षेत्रमा अपरेसन सुरु गरेको थियो। अपरेसनका क्रममा सुन बरामद गर्नुका साथै तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो।
बरामद सुन कहाँबाट ल्याइएको थियो भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन। प्रारम्भिक सूचनाअनुसार सुन प्रशोधनपछि भारततर्फ लैजाने तयारी गरिएको हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेकाहरूमाथि सोही विषयमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ।
यसअघि पनि चिनियाँ नागरिकले ब्रेक सुमा लुकाएर ल्याएको ६१ किलो सुन बरामद भएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा चिनियाँ नागरिकबाट यसअघि पनि ठूलो परिमाणमा सुन नेपाल भित्र्याइएको खुलेको थियो।
बूढानीलकण्ठबाट बरामद सुन र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे विस्तृत जानकारी दिन शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।
ताजा अपडेट
-
स्टारलिङ्क रोकिएको आरोप भारतद्वारा अस्वीकार, नियम निष्पक्ष रहेको दाबी
-
काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ
-
कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
-
सरकारी कार्यालयको विद्युत् महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने
-
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले कारण सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन


प्रतिक्रिया