NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ४ गते

बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने

काठमाडौं- हालैको मनसुनजन्य विपत्‌बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको पहिरो र कालीगण्डकी नदीको कटानका कारण सडकको संरचना तहसनहस भएको छ। बेनी-जोमसोम-कोरला सडक योजनाका अनुसार उक्त सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले सडकका १० स्थानमा क्षति पुर्‍याएको छ भने ५० भन्दा बढी स्थानमा पहिरो गएको छ। ‘८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ,’ उनले भने। उनले म्याग्दी खण्डमा यसअघि गरिएको डिबिएसडी कालोपत्रलाई अक्सफाल्ट पिचको डिजाइनअनुसार स्तरोन्नति गर्नुपर्ने भएकाले खर्च बढ्ने बताएका छन्।

पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने कुल २०२ किलोमिटर सडकमध्ये म्याग्दी खण्डको ३३ किलोमिटर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। संघीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यो सडक निर्माण सुरु भएयताकै ठूलो क्षति भएको बताए।

सडकको अवस्था बिग्रेपछि यात्रा समय लम्बिएको छ। पहिरो र कटानका कारण म्याग्दी खण्ड पार गर्न पहिले एक घण्टा तीन मिनेट लाग्ने गरेकामा अहिले तीनदेखि चार घण्टा लाग्ने गरेको छ। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार सडकमा सवारीसाधन फस्ने र जाम हुने समस्या कायमै छ। कोरला नाका जोड्ने यो सडक पर्यटकीय र व्यापारिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले हालै क्षतिग्रस्त सडकको निरीक्षण गर्दै पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष