NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ७ गते

‘पोलियो डे’मा सात सम्पदामा साइकल र्‍याली, चिरीबाबु महर्जन र सुनिता डंगोल पनि सहभागी हुने

काठमाडौं । विश्वव्यापी पोलियो उन्मूलन अभियानमा जनसहभागिता बढाउने उद्देश्यले रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले अक्टोबर २४ मा काठमाडौं उपत्यकामा ‘मेगा पोलियो साइकल र्‍याली’ आयोजना गर्ने भएको छ । विश्व पोलियो दिवसका अवसरमा हुने र्‍यालीले सात ऐतिहासिक तथा सांस्कृतिक सम्पदा जोड्दै खोपको महत्त्व र पोलियो उन्मूलनका लागि सामूहिक प्रतिबद्धताको सन्देश फैलाउनेछ ।

आयोजकका अनुसार र्‍यालीमा सात सयभन्दा बढी साइकलयात्री सहभागी हुनेछन् । रोटरी तथा रोटर्‍याक्ट सदस्यहरूको पनि सहभागिता रहनेछ ।

र्‍यालीको उद्घाटन बिहान ७ बजे भक्तपुर दरबार स्क्वायरमा हुनेछ । त्यहाँबाट सुरु हुने र्‍याली चाँगुनारायण, बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भूनाथ र काठमाडौं दरबार स्क्वायर हुँदै पाटन दरबार स्क्वायरमा पुगेर दिउँसो ३ बजे समापन हुनेछ ।

रोटरी क्लब अफ भक्तपुरले ‘साइकल कनेक्ट भक्तपुर’सँगको सहकार्यमा र्‍याली सञ्चालन गर्नेछ । समापन कार्यक्रमको समन्वय भने नेटवर्क अफ रोटरी क्लब अफ ललितपुरले गर्नेछ ।

र्‍यालीमा रोटरियन तथा सर्वसाधारणसँगै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रोटरीका डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की पनि सहभागी हुने कार्यक्रम छ ।

पोलियोप्लस उपसमितिकी अध्यक्ष विनिता हाडाका अनुसार र्‍यालीमार्फत पोलियोविरुद्धको खोपबारे जनचेतना फैलाउँदै जनस्वास्थ्यप्रति चासो बढाइनेछ । पोलियो उन्मूलनका लागि निरन्तर सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश समुदायसम्म पुर्‍याउनु कार्यक्रमको उद्देश्य हो ।

पोलियोविरुद्ध रोटरीको संगठित अभियान सन् १९७९ सेप्टेम्बर २९ मा फिलिपिन्सबाट सुरु भएको थियो । रोटरी, विभिन्न देशका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको संयुक्त प्रयासबाट सन् १९८८ यता पोलियोका बिरामीको सङ्ख्यामा ९९.९ प्रतिशत कमी आएको छ । अफगानिस्तान र पाकिस्तानमा वाइल्ड पोलियोभाइरसको एन्डेमिक ट्रान्समिसन अझै कायम छ । पोलियो उन्मूलन अभियानको उपलब्धि जोगाउँदै विश्वका सबै बालबालिकालाई पोलियोबाट सुरक्षित बनाउनु रोटरीको विश्वव्यापी अभियानको साझा लक्ष्य हो ।

ताजा अपडेट

नेपालवाच विशेष