NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १४ गते

मेची करिडोरको काम अलपत्र पार्ने ठेकेदारको ठेक्का रद्द

काठमाडौं ।सडक डिभिजन कार्यालय, इलामले मेची करिडोर सडक निर्माणको जिम्मा पाएर काम अलपत्र पार्ने खड्का कृष्ण-सक्षम जेभीको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै उक्त कम्पनीसँगको ठेक्का तोडेको जानकारी गराएको हो।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको लाइफलाइन मानिएको मेची करिडोरको बेलासे-गोलाखर्क खण्डको स्तरोन्नतिको काम ५ वर्ष ३ महिनाको अवधिमा जम्मा ४५.२८ प्रतिशत मात्र सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सुरुमा ३० महिनाको समयसीमा तोकिएको थियो। तोकिएको समयमा काम नसकिएपछि पटक-पटक गरी थप ३३ महिना म्याद थपिएको थियो। कुल ६३ महिना बितिसक्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि कार्यालयले कडा कदम चालेको हो।

निर्माण व्यवसायीलाई पटक-पटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि सम्झौताअनुसारको दायित्व पूरा नगरेको सडक डिभिजनको भनाइ छ। कम्पनीले विभिन्न समयमा काम सम्पन्न गर्ने भनी लिखित प्रतिबद्धता जनाए पनि प्रगति हासिल गर्न सकेको थिएन। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौताको प्रावधानमा टेकेर कार्तिक ११ गतेको निर्णयअनुसार ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।

सडक डिभिजनले निर्माण व्यवसायीलाई बाँकी हिसाबकिताब फरफराक गर्न १५ दिनको समय दिएको छ। सो अवधिभित्र आधिकारिक प्रतिनिधि कागजातसहित उपस्थित नभएमा प्रचलित कानुनबमोजिम एकतर्फी रूपमा मूल्यांकन गरी कालोसूचीमा राख्ने लगायतका कानुनी कारबाही अघि बढाउने कार्यालयले चेतावनी दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष