पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको सचिवालय बैठकले पत्रकारमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै घटनाको छानबिनमा ढिलासुस्ती नगर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी नेतृत्वको सरकारले विधि, न्याय, मानव अधिकार र सामाजिक लोकतन्त्रको सम्मान गर्नुपर्ने बताए।
उनले आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारलाई धरपकड गर्ने वा समाचार लेखेकै आधारमा कसैलाई पक्राउ गर्ने कार्य नगर्न पनि सरकारलाई निर्देशन दिइएको बताए।
त्यस्तै, बैठकले न्यायालयसँग सम्बन्धित विषयमा छलफल गर्दै न्यायपालिकाको पुनःसंरचना र न्याय निरूपणका विषयमा संसद्बाटै निकास खोज्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया संसद्मार्फत अघि बढाउन संसदीय दललाई निर्देशन दिइएको प्रवक्ता खरेलले जानकारी दिए ।
उहाँका अनुसार शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायपालिकाको पुनःसंरचना र न्याय निरूपणका विषयमा संवैधानिक बाटोबाटै समाधान खोज्नुपर्ने भएकाले संसद्मार्फत विषय अघि बढाइनेछ ।
विवादमा मुछिएका न्यायाधीशमाथि महाभियोग लगाउने तयारीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता खरेलले उक्त विषय संसदीय दलमार्फत संसद्मा प्रवेश गरेपछि मात्रै टुंगो लाग्ने जवाफ दिए ।
ताजा अपडेट
-
पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
-
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
-
२०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने
-
कात्तिकमै मुस्ताङमा ३ फिट हिउँ, जनजीवन प्रभावित
-
सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते


प्रतिक्रिया