NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १५ गते

सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

काठमाडौं – सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ रातामाटेमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।

प्रहरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका थिए। तीमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। ज्यान गुमाउनेहरूमा सिद्ध कुमाख गाउँपालिका-२ का ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता वि.क. र ४३ वर्षीय साउने रोका रहेका छन्।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा २४ वर्षीय देवबहादुर वि.क., ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका, १५ वर्षीय कमल बुढाथोकी, ७ वर्षीया बिमला (रुपा) बुढाथोकी र १० वर्षीय युवराज परियार रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये देवबहादुर वि.क. र कमल बुढाथोकीको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ। केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ।

प्रहरीले जिप चालक सिद्ध कुमाख गाउँपालिका-२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यान पठाइएको छ।