NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १७ गते

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्।

सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग भेट गर्दै उनले यसपटक आश्वासन मात्र नभई लालपूर्जा नै वितरण गर्ने प्रतिबद्धता जनाइन्।

‘तपाईंहरूलाई जो आउँछन्, आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुन सक्छ,’ उनले भनिन्, ‘ढुक्क हुनुहोस्, यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र नगरप्रमुख राजेन्द्र पोखरेलको उपस्थितिमा मन्त्री रावलले लालपूर्जा वितरणको काम अघि बढिसकेको र त्यसलाई तीव्रता दिइने बताइन्।

कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मी ओलीले वडाका ५०० परिवार २०१९ सालदेखि बसोबास गर्दै आए पनि जग्गाको लालपूर्जा नपाएको जानकारी गराएका थिए।

मन्त्री रावलले जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग भेट गरी लालपूर्जा वितरणको काम तीव्र बनाउन निर्देशन दिइन्। उनले दमक नगरपालिका–८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीसँग पनि भेटेर गुनासो सुनेकी थिइन्। रासस

 

ताजा अपडेट

नेपालवाच विशेष