NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २४ गते

रसुवाको हाकुबेँसी गाउँ उच्च जोखिममा, बस्ती सार्न स्थानीयको माग

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नहटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ स्थित हाकुबेँसी गाउँका १५६ परिवारले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका छन्।

स्थानीय निमाकैसाङ तामाङका अनुसार नदीको तल्लो भागबाट तीव्र कटान भइरहेको र भूबनोट कमजोर भएका कारण पहिरो खस्ने क्रम जारी छ। जोखिमका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि सङ्कटमा परेका छन्।

स्थानीय बासिन्दाले प्रमुख जिल्ला अधिकारीमार्फत बस्ती स्थानान्तरणका लागि लिखित माग बुझाएका छन्। आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जोखिमयुक्त बस्ती सार्नुको विकल्प नरहेको बताउँदै नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीका कारण सम्पर्कविहीन र बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने प्रक्रिया अघि बढाएको छ। वडा कार्यालयबाट प्राप्त निवेदनका आधारमा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णयलाई अनुमोदन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको सम्बन्धमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्रै स्थानान्तरणको ठोस निर्णय लिइने जानकारी दिए। हाल बेपत्ता र सम्पर्कविहीन नागरिकको विवरण सङ्कलन गरी केन्द्रमा सिफारिस गर्ने प्रक्रिया चलिरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष