NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर २ गते

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगर निवासी ३५ वर्षीय रोहित पथरियालाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका उनलाई सट्टेबाजीमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका पथरियाको साथबाट दुई थान मोबाइल बरामद गरिएको छ। मोबाइल परीक्षण गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका क्रिकेट खेलहरूमा पटक–पटक सट्टेबाजी गरेको खुलेको कार्यालयले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले अनलाइन सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।

पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जानकारी दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष