ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका सबै बजार र व्यापारिक क्षेत्रलाई २४ घण्टा खुला गर्ने तयारी थालेको छ। ठमेल र दरबारमार्ग क्षेत्रमा २४ घण्टे सेवा सुरु भइसकेको सन्दर्भमा प्रशासनले अब जिल्लाभर नै यस्तो व्यवस्था लागू गर्ने योजना बनाएको हो।
सोमबार एक सूचना जारी गर्दै प्रशासनले संघीय राजधानीको महत्त्वलाई मध्यनजर गर्दै यस्तो रणनीतिगत तयारी भइरहेको जनाएको छ। यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था मिलाउने कार्यलाई प्राथमिकतामा राखिएको छ। साथै, व्यापार, व्यवसाय, आपूर्ति व्यवस्था र सुरक्षालाई थप भरपर्दो बनाउने विषयमा पनि प्रशासनले जोड दिएको छ।
प्रशासनका अनुसार यस योजनालाई कार्यान्वयनमा ल्याउन स्थानीय तह, सरकारी कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छिट्टै समन्वयात्मक बैठक आयोजना गरिनेछ। आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था सुनिश्चित भएपछि मात्रै सबै क्षेत्र २४ घण्टा खुला गर्ने औपचारिक निर्णय लिइनेछ।
तत्कालका लागि भने ठमेल र दरबारमार्गबाहेकका अन्य क्षेत्रका व्यवसायीले पुरानै समय तालिकाअनुसार व्यापार सञ्चालन गर्नुपर्नेछ। अर्को सूचना जारी नभएसम्म तोकिएको समयभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया