दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन आमनेसामने, फाइनल पुग्ने लक्ष्य
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ। फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने चितवन चौथो स्थानमा थियो। सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो। यता, इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले उच्च मनोबलका साथ यो चरणमा स्थान बनाएको छ।
एनपीएलको इतिहासमा यी दुई टोलीबीच तीन खेल भएका छन्, जसमा सुदूरपश्चिमले दुई र चितवनले एक खेल जितेका छन्। तेस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले चितवनलाई पराजित गरेको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन र बलर अनिल खरेल तथा स्कट कुगेलेनको लय टोलीका लागि महत्त्वपूर्ण हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमको ब्याटिङ १०५ रनमा सीमित भएकाले यस खेलमा ब्याटिङ सुधार गर्नुपर्ने दबाब छ।
चितवनका लागि श्रीलंकाली ब्याटर कामिल मिशारा उत्कृष्ट लयमा छन्, जसले इलिमिनेटरमा अविजित १२० रन बनाएका थिए। अनुभवी ब्याटर रवि बोपाराले पनि टोलीलाई साथ दिइरहेका छन्। बलिङतर्फ रिजन ढकाल र कमलसिंह ऐरी चितवनका प्रमुख हतियार हुन्। चितवन पहिलोपटक फाइनल पुगेर इतिहास बनाउने लक्ष्यमा छ भने सुदूरपश्चिम दोस्रो पटक उपाधि जित्ने उद्देश्यका साथ मैदान उत्रनेछ। लगातार दुई दिन खेल्दा हुने खेलाडीको थकान व्यवस्थापन गर्नु चितवनका लागि चुनौतीपूर्ण हुन सक्छ।
ताजा अपडेट
-
दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन आमनेसामने, फाइनल पुग्ने लक्ष्य
-
मधेस प्रदेशमा १० वर्षयताकै उच्च बजेट विनियोजन गरिएको छ : मन्त्री लम्साल
-
ठगी तथा संगठित अपराधको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
-
चितवन राइनोज एनपीएलको क्वालिफायर २ मा प्रवेश
-
चितवन राइनोजले काठमान्डु गोर्खाजलाई दियो २०५ रनको लक्ष्य

प्रतिक्रिया