NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ११ गते

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ८४ हजार पर्यटक

काठमाडौं: चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ८४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक मसान्तसम्म कुल ८४ हजार ५४ जना पर्यटक निकुञ्ज पुगेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भ्रमण गर्नेहरूमध्ये नेपाली पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ। यस अवधिमा ४५ हजार ३६८ नेपाली, तीन हजार ७८७ सार्क राष्ट्रका र ३४ हजार ८९९ अन्य विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु तथा जैविक विविधताका लागि परिचित छ। यहाँ दुर्लभ एकसिङे गैँडा, पाटेबाघ, हात्ती र घडियाल गोही अवलोकन गर्न पर्यटक आउने गर्दछन्। प्राकृतिक वातावरण र चराचुरुङ्गी पनि निकुञ्जका मुख्य आकर्षण रहेको तिवारीले बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए, जसमा एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क राष्ट्रका र ८८ हजार ६६५ अन्य विदेशी पर्यटक थिए।

निकुञ्जले यस चार महिनाको अवधिमा १० करोड छ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ। त्यसमध्ये पर्यापर्यटनबाट मात्र नौ करोड ७३ लाख १६ हजार पाँच सय रुपियाँ प्राप्त भएको छ। बाँकी राजस्व काठ, दाउरा, गैरकाष्ठ वनपैदावार बिक्री, दण्डसजाय र अन्य शीर्षकबाट सङ्कलन भएको हो। गत आर्थिक वर्षमा निकुञ्जले कुल ३१ करोड एक लाख ६४ हजार ५५१ रुपियाँ राजस्व सङ्कलन गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष