दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन
बाँके । दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो ।
वर्षे धान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठुलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले बताए ।
परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरुलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड—१ नामक धानको खेती हुने गरेको छ ।
हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ । यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाइ कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिका बारेमा जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रर्दशनी गरेर आर्कषण बढाउने योजना छ,’ ओझाले भने ।
उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ ।
जिल्लाको बैजनाथ गाउँपालिका– २, ३ र ४ को नौवास्ता, वडा नं ७ को वनकटवा, वडा नं ८ को टिटिहिरियामा सात हजार चार सय २३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् ।
जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगञ्ज र वडा नं ४ को खजुराखुर्दमा चार हजार सात सय ८७ घरधुरी छन् । त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा तीन हजार तीन सय ४४ घरधुरी सो कार्यक्रममा संलग्न भएका परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।
धान जोन समन्वय समितिका संयोजक सर्वजीत विष्टले वर्षे धान भन्दा चैते धानको उत्पादन बढी भएको बताए। उहाँले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए ।
धानको बिक्रीवितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरुको भनाइ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया