सत्तागठबन्धनभित्र बढ्दो विवादबारे आज छलफल गर्दै माओवादी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बुधबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले स्थगित हुन पुगेपछि आज बस्न लागेको हो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयका अनुसार, बैठक अहिले बिहान ११ बजेका लागि तय छ ।
गृह मन्त्रालयलाई लिएर उत्पन्न विवाद, समसामयिक राजनीतिलगायत विषय बैठकको मुख्य एजेन्डा रहेको माओवादीका एक स्थायी समिति सदस्यले जानकारी दिए ।
सर्वोच्च अदालतले नेपाली नागरिक नरहेको ठहर गरेपछि गृह मन्त्रालय गुमाएका रवि लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता प्राप्तिपछि पुनः पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने अडानमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक–पटक भेटेर पुरानो जिम्मेवारीमा फर्काउन आग्रह गरेका लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गर्दै आएका छन् । एमालेले पुरानो सहमति स्मरण गराउँदै रविलाई पुरानो जिम्मेवारीमा फर्काउन आग्रह गरे पनि प्रधानमन्त्री दाहाल गृह मन्त्रालय रविलाई नदिने मुडमा छन् । रविको फैसलाको पूर्ण पाठ नआएको तथा राहदानी दुरूपयोगको अभियोग बाँकी नै रहेकाले यसको किनारा नलाग्दासम्म दिन नसकिने दाहालले सार्वजनिक रूपमै बताएका छन् । त्यसैगरी, भावी राष्ट्रपतिलाई लिएर पनि सत्तागठबन्धनभित्र मतान्तर बढ्दै गएको छ । एमाले आफ्नो पार्टीले अघि सारेको उम्मेदवारलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छ भने माओवादी राष्ट्रिय सहमतिको कुरा गरिरहेको छ । माओवादीका एक नेताका अनुसार, यीलगायत विषयमा आजको बैठक केन्द्रित हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया