रविको ‘कोर टिम’माथि पार्टीभित्रै उठ्यो प्रश्न
उपसभापति अर्याल भन्छन्- छानविन हुन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग पैसा माग गरेको अडियो सक्कली हो की नक्कली भन्ने अझै प्रष्ट भएको छैन । आरोपित सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दावी गरेका छन् ।
रास्वपाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन सुरू गरिसकेको बताएको छ । लेनदेन सम्बन्धमा भएको अडियो प्रकरणबारे छानविनका लागि सांसदहरूले संसदमा संसदीय छानविनको माग उठाएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायी प्रसाईसँग सांसद श्रेष्ठले रकम माग गरेको विषयमा छानविन हुने बताएका छन् ।
तर राष्ट्रिय स्वतन्त्र पार्टीको केही सांसद र केन्द्रीय सदस्यहरुले भने सभापति लामिछानेको ‘कोरटिम’ माथि पनि सँगै छानविन हुनुपर्ने माग गरेका छन् ।
प्रसाईसँगको अडियो संवादमा सांसद श्रेष्ठले पटक–पटक सभापति लामिछानेको ‘कोरटिम’ भन्ने शब्द प्रयोग गरेका छन् ।
लामिछानेले टेलिभिजन पत्रकारिता गर्दा पनि ‘कोरटिम’ मार्फत रकम संकलन गर्ने गरेको आरोप लाग्दै आएको थियो । यसै सन्दर्भमा रास्वपाभित्र एकैपटक सभापति लामिछानेको ‘कोरटिम’माथि छानविनको माग उठाएका छन् ।
‘हाम्रो सांसदको यस्तो अडियो सुन्नुपर्छ भन्ने कल्पना पनि गरेका थिएनौँ । यसअघि सभापति लामिछानेमाथि लगाइएको आरोपमाथि पनि हामीले विश्वास गरेका थिएनौँ ।, नेपालवाचसँगको संवादमा एक केन्द्रीय सदस्यले भने, पार्टीप्रतिको विश्वास जोगाउनकै लागि भएपनि सभापति लामिछानेको ‘कोरटिम’ माथि छानविन आवश्यक छ ।’
अरनिको पाँडेलगायतका सांसदले सभापतिको ‘कोरटिम’ माथि पनि एकैसाथ छानविन अघि बढाउन माग गरेको रास्वपा स्रोतले बताएको छ ।
‘हामीले छानविन होस् भनेका छौँ । नेतृत्वले खासै रुची देखाएको छैन ।,‘ नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय सदस्यले नेपालवाचसँग भने, ‘सभापतिमाथि बारम्बर उठेको प्रश्नबारे पनि अब स्पष्ट भएर जानु राम्रो हुन्छ भन्ने हाम्रो सुझाव हो ।’
पार्टी नेतृत्वले भने उपनिर्वाचनकै मुखमा यस्तो विषयलाई प्रवेश गराउन नहुने तर्क दिँदै पन्छिएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले भने सभापतिको कुनै छुट्टै कोरटिम नभएको दाबी गरे ।
नेपालवाचको जिज्ञासामा उनले भने, ‘सभापतिको कोरटिम भनेको ४० सदस्य केन्द्रीय समिति हो । त्यो भन्दा बाहिर कुनै ‘कोरटिम’ छैन । सिंगो केन्द्रीय समितिमाथि शंका गरेर छानविन गर्ने हो भने कसले छानविन गर्ने ? यो सम्भव छैन ।’
सभापति सहित सांसदमाथि एकपछि अर्को प्रकरण जोडिन थालेपछि रास्वपाभित्र यतिबेला खैलाबैला मच्चिएको छ ।
प्रतिक्रिया