NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २ गते

तातोपानी नाका तीन दिनका लागि खुला

काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म नाका खुला गरिएको हो। यस अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।

दशैं र तिहारका लागि आवश्यक सामग्री आयात गर्ने समयमा नाका बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले नाका नियमित रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेको छ।

संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार नाका नियमित सञ्चालनका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्र बुझाइएको छ। उनले तीन दिनका लागि मात्र नाका खोल्नु पर्याप्त नभएको उल्लेख गर्दै निरन्तर सञ्चालनको व्यवस्था गर्नुपर्ने बताए।

नाका बन्द हुँदा चीनबाट नेपालतर्फ सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर दुवैतर्फ रोकिएका छन्। यसबाट व्यवसायीले आर्थिक क्षति बेहोर्नुका साथै नेपाली बजारमा वस्तुको अभाव हुन सक्ने जोखिम बढेको संघले जनाएको छ। सीमामा रोकिएका सामानमध्ये नाशवान् वस्तु तथा कृषि उत्पादनसमेत रहेकाले ती बिग्रने चिन्ता थपिएको छ।

पराजुलीका अनुसार सडक निकाय र स्थानीय सरोकारवालाको पहलमा अवरोध हटाई सुरक्षित आवागमन पुनःस्थापना गरिएको छ। भन्सार जाँचपास र सवारीसाधन सञ्चालनका लागि सडकसमेत तयार रहेको उनको भनाइ छ।

भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि चिनियाँ पक्षले भदौ १५ देखि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। अहिले तीन दिनका लागि नाका खुलाइए पनि दीर्घकालीन रूपमा नियमित सञ्चालनको व्यवस्था नभएसम्म आयात–निर्यात र आपूर्ति व्यवस्थापनमा समस्या कायमै रहने व्यवसायीको भनाइ छ।

ताजा अपडेट

नेपालवाच विशेष