रास्वपा बैठक बस्दै, सरकारबारे निर्णय ठोस लिने

काठमाडौं । सरकारमा सामेल हुने या नहुने भन्नेबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।
सरकारमा सहभागिताबारे निर्णय लिन गत साता पनि रास्वपाको बैठक बसेको थियो । यसबारे व्यापक छलफल गरेर मात्र निचोडमा पुग्नुपर्ने निष्कर्षपछि आज बैठक बस्न लागेको हो ।
सरकारबारे निर्णय लिन शुक्रबार साँझ ५ बजे बैठक बस्न लागेको रास्वपाका एक नेताले जानकारी दिए ।
प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा रास्वपा त्यसको मुख्य घटक दलमध्ये एक थियो । तर रवि लामिछानेको नागरिकता प्रकरणमा अदालतबाट आएको आदेशपछि प्रधानमन्त्री पुरानो सहमतिबाट विमुख भएको निष्कर्षसहित रास्वपाले मन्त्रिपरिषद्बाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो । यद्यपि, उसको समर्थन भने अद्यापि कायम नै छ । उपनिर्वाचनको परिणामपछि प्रधानमन्त्री रास्वपालाई सरकारमा सामेल गराउने पक्षमा खुलेका छन् भने रास्वपामा पनि कि सरकारमा सामेल हुनुपर्ने नभए समर्थन फिर्ता लिनुपर्ने बहस सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धन निर्माणको खेलमा लागेको संकेत पाएपछि प्रचण्ड रास्वपालाई रोजेकै मन्त्रालय दिएर आफू नेतृत्वको सरकारमा फर्काउने मनस्थितिमा रहेको बताइन्छ ।
यसबारे छलफल गर्न गत साता बसेको रास्वपा बैठकले सरकारमा सामेल हुनुका फाइदा र बेफाइदा खुट्याएर लिखित रूपमा शुक्रबारको बैठकमा प्रस्तुत हुन केन्द्रीय समिति सदस्य र सांसदहरूलाई निर्देशन दिइएको थियो । सोही निर्णयअनुसार आज सांसद र केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने र त्यसबारे निर्णय लिने रास्वपाका एक नेताले बताए ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया