NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ठूला नेता र तिनका सन्तानलाई छाडियो भने रास्वपा हेरेर बस्दैन : रवि लामिछाने

प्रधानमन्त्रीलाई व्यंग्य– एउटा तोप पड्काउन यत्रो सकस ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्धामा जोडिएकालाई उन्मुक्ति दिन चलखेल भएको आशंका गरेका छन् । यसमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई बिनाकारबाही छाडिएमा त्यो ठूलो भुल हुने भन्दै उनले यसो गरिएमा रास्वपा टुलुटुलु हेरेर नबस्ने प्रष्ट पारे ।

छानबिनका क्रममा नाम आएकाहरूमाथि अनुसन्धान गर्नुपर्नेमा त्यो फितलो भएको उनले बताए । यो प्रकरणमा पक्राउ परेका व्यक्तिले वयानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु, कांग्रेस नेत्री आरजु राणाको नाम लिएको बताइए पनि उनीहरूमाथि ठोस अनुसन्धान हुन सकेको छैन ।

एमाले नेता टोपबहादुर रायमाझीलाई सल्लाहमा फरार गराइएको अर्को आरोप पनि उनले लगाएका छन् । पक्राउ पुर्जी जारीपछि प्रहरीको सम्पर्कमा आएर अनुसन्धानमा सघाउने बताएका रायमाझी केही समयपछि मोबाइल अफ गरेर हालसम्म फरार छन् ।

‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन, नाम आएकाहरूमाथि अनुसन्धान फितलो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।’ उनले यसलाई आँधीको संज्ञा दिँदै ख्याल नसम्झन पनि सुझाएका छन् ।

भ्रष्टाचारको एउटै फाइलले सकस परेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्यसमेत कसे । उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ।’

ताजा अपडेट

नेपालवाच विशेष