NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ४ गते

मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार

काठमाडौं- नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड ४ लाख पुगेको छ। पछिल्ला वर्षहरूमा चाडपर्व मनाउने शैलीसँगै कारोबार गर्ने तरिकामा आएको परिवर्तनले डिजिटल भुक्तानीको प्रयोग ह्वात्तै बढाएको छ। दशैं, तिहार र छठ जस्ता चाडपर्वका बेला अनलाइन किनमेल, क्यूआर कोडमार्फत भुक्तानी र डिजिटल वालेटको प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ।

नेपाल राष्ट्र बैंकका अनुसार, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस वर्ष वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको छ। चाडपर्वका लागि वालेटबाट ५० पटकसम्म रकम जम्मा गर्न मिल्ने व्यवस्था गरिएको छ। गत आर्थिक वर्षको असोज महिनामा १७० खर्ब ५४ अर्ब रुपैयाँ बराबरको डिजिटल कारोबार भएको थियो, जुन १८ करोड ५५ लाख ११ हजार ९९९ पटकको कारोबारमार्फत सम्पन्न भएको थियो। यो हालसम्मकै उच्च रेकर्ड हो।

एक दशक अघिसम्म १७ लाखको हाराहारीमा रहेको मोबाइल बैंकिङ सेवाको पहुँच अहिले ३ करोड ४ लाख पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको संख्यामा आएको परिवर्तन र प्रविधिको विस्तारले यो फड्को सम्भव भएको हो। २०७० सालमा २०७ वटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले सो संख्या घटेर पहुँच र खाता संख्या बढेको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा ६ करोड ४० लाख बैंक खाताहरू खोलिएका छन् भने ५ हजारभन्दा बढी एटीएम मेसिनहरू सञ्चालनमा छन्।

इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको तथ्यांक राख्न सुरु गरेको पहिलो वर्ष २०७३ मा १७ लाख ५४ हजार ५६६ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए। त्यसयता लगातार वृद्धि हुँदै २०८३ सम्म आइपुग्दा यो संख्या ३ करोड ४ लाख पुगेको छ। व्यस्त जीवनशैली भएका उपभोक्ताहरूका लागि घरमै सामान मगाउने र क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्ने सुविधाले डिजिटल कारोबारलाई थप सहज बनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष