शरणार्थी प्रकरणबारे आरजु– म कागज खाने मान्छे परिनँ, मञ्जुको जिम्मा लिन पनि सक्दिनँ
शेरबहादुरज्यू तनावमा हुनुहुन्न, तोसिमा बच्चा हो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले कुनै आर्थिक लाभ नलिएको दाबी गरेकी छन् । कसैबाट एक पैसा लिएको प्रमाणित गरेर देखाउन पनि उनले चुनौती दिइन् ।
‘एउटा मान्छे देखाउनुहोस्, जसले आरजु राणा देउवालाई पैसा दिएँ भनोस् । त्यसपछि म मान्छु,’ हिमालय टेलिभिजनको टक शो यक्ष प्रश्नमा उनले भनिन् ।
उनले अगाडि थपिन्, ‘छोराकै कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।’
प्रस्तोताले आरजुले २ करोड र मञ्जु खाँणले ५ करोड लिएको सार्वजनिक अडियोको प्रसंग पनि निकाल्छन् । जवाफमा आरजुले त्यसलाई फेक भएको दाबी गरिन् । ‘त्यो त फेक अडियो हो । मेरो मात्र आएको छ र ? अरूको सुन्नुभएको छैन,’ उनले भनिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन नेपाल प्रहरीले मात्र नगरेर अरूले पनि गरेको उनले बताइन् । तर त्यो अरू को हो भन्नेचाहिँ उनले खुलाइनन् ।
प्रहरी नियन्त्रणमा रहेका बालकृष्ण खाँणले प्रमाण चपाएर निलेको सन्दर्भमा आरजुले आफू कागज र घाँस खाने नभएको बताएकी छन् ।
‘त्यसबारे मलाई थाहा छैन । म त्यो कागज खानेमा परिनँ । घाँस खानेमा पनि परिनँ,’ उनले भनिन् ।
खाँण पत्नी मञ्जुको जिम्मेवारी लिन नसक्नेसमेत उनले प्रष्ट पारेकी छन् । उनले भनिन्, ‘मञ्जु खाँणको जिम्मेवारी लिन म सक्दिनँ । मसँग २४ घण्टा हिँड्ने हो र ?’
नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देउवा निकै तनावमा रहेको समाचार प्रकाशमा आइरहँदा आरजुले त्यो गलत भएको टिप्पणी गरिन् ।
फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीलाई बच्चाको संज्ञा दिएकी छन् ।
राणाले संसदमा बोल्दै महिला भएका कारण आफूलाई नक्कली शरणार्थी प्रकरणमा जोडेर बदनाम गरेको बताएकी थिइन् । भोलिपल्ट त्यसको जवाफमा तोसिमाले भ्रष्टाचारीको कुनै लिंग नहुने कडा जवाफ आरजुलाई फर्काएकी थिइन् ।
आरजुले भनिन्, ‘ऊ (तोसिमा) हामीले बनाएको कानूनबाट आएको हो । ऊ बच्चा हो । केही थाहा छैन,’
सांसद स्वर्णिम वाग्लेलाई चर्चित बनाउनेदेखि अवसर दिनेसम्मका काम आफ्ना पति शेरबहादुर देउवाले गरेको भन्दै उनले आफूप्रति लक्षित गरेर पूर्वाग्रही आरोप लगाएको दाबी पनि गरिन् ।
प्रतिक्रिया