संसद सचिवलयमा रवि र स्वर्णिमको गलत फोन नम्बर !

काठमाडौं । जनताका प्रतिनिधि बनेर संसद पुगेका सांसदहरूले नै गलत सम्पर्क नम्बर राखिएको पाइएको छ ।
संघीय संसद सचिवालयमा आफ्नो सम्पर्क नम्बर बुझाउने अधिकांश सांसदहरूको नम्बर नै नक्कली रहेको पाइएको छ । सचिवालयमा सांसदहरूले बुझाएको सम्पर्क नम्बर प्रतिनिधिसभाको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।
तर आधिकारिक पोर्टलमै राखिएको प्रायजसो सांसदहरूको नम्बर नै नक्कली रहेको पाइएको हो ।
आफ्नो नाममा अर्कै टेलिफोन नम्बर रजिस्टर गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने र स्वर्णिम वाग्ले छन् ।
संसद सचिवालयले जारी गरेको टेलिफोन डिरेक्टरीमा उनीहरूले राखेको नम्बरमा फोन अरूले नै उठाउँछन् । उक्त नम्बर सम्बन्धित व्यक्तिको नभएको दाबी गर्छन् ।
दाङ–१ बाट निर्वाचित एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको पनि वेबसाइटमा उपलब्ध गराइएको नम्बर अर्कैले उठाउँछन् ।
सचिवालयको टेलिफोन व्यवस्थापन अनुसन्धान महाशाखा प्रमुख सहसचिव बबिता मिश्र सुरुमै लिइएको नम्बर भएको हुनाले प्राविधिक समस्या भएको हुन सक्ने बताउँछिन् ।
‘त्यसमा उहाँहरूको नभएर सचिवालयबाटै प्राविधिक कमजोरी भएको हुन सक्छ,’ उनले भनिन् ।
मंगलबार बस्ने विषयगत समितिको बैठकमा सांसदहरूसँग फेरि नम्बर माग गरेर ‘अपडेट’ भएको सम्पर्क नम्बर वेबसाइटमा राखिने उनले जानकारी दिइन् ।
‘संसदीय समितिको बैठक नबसेका कारण नम्बर भेरिफाइ गर्न पाइएको थिएन,’ उनले भनिन्, ‘भोलि पुनः नम्बर संकलन गरेर फोन लाग्ने नम्बर पर्सी नै वेबसाइटमा उपलब्ध हुनेछ ।’
देशको नियम कानुन बनाउन आएका जनप्रतिनिधिहरूले नै गलत नम्बर उपलब्ध गराउँदा महत्वपूर्ण विषयमा जानकारी लिनसमेत समस्या देखिएको छ ।
प्रतिक्रिया