संसदमा एमालेको भूमिका लुलो भयो : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आइतबारदेखि छलफल हुने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट व्यक्त गरिएका कुरालाई कडाइका साथ प्रस्तुत गर्न सांसदलाई निर्देशन दिएका हुन् ।
“एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्”, उनले भने, “त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ, । संसद्मा जति समय पाउँनुहुन्छ । आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।”
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित गर्न नदिने बताए । सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए ।
“नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना रहेको छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो”, उनले भने, “यसले देशको मार्गदर्शन गर्दैन । यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।”
नेता ओलीले पञ्चवर्षीय योजना, संविधान, मौलिक हकसँग नीति तथा कार्यक्रम जोडिएर आउनुपर्नेमा जोड दिए ।
कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सिद्धान्त र नीतिसँग नमिल्ने गरी नीति तथा कार्यक्रम आएको टिप्पणी गरे । नीति तथा कार्यक्रममा राखिएका कुरा बजेटमा आउनुपर्नेमा उनको जोड थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया