NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान हुने, केन्द्रमा बेचन

काठमाडौं ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा यथेष्ट प्रमाण नजुटेका, तर प्रकरणमा मुछिएकामाथि प्रहरीले थप प्रमाण जुटाउन थालेको हो ।

दोस्रो चरणको अनुसन्धानको केन्द्रमा बिचौलिया बेचन झा छन् । फरार उनलाई पक्राउ गर्न सके थप उच्च तहको संलग्नता पुष्टि हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

हाल थुनामा रहेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति उनै झा हुन् । सचिव पाण्डेले त लिखित बयानमै सो कुरा बताएका छन् । उनको बयान छ, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए ।

स्रोतका अनुसार कांग्रेसका उच्च तहका नेतामार्फत नै झा खाण र पाण्डेलाई भेट्न गृह मन्त्रालय गएका थिए । साथै खाणले बिचौलियाहरूसँग भेट्दा सो पैसा आफूले विभिन्न व्यक्तिहरूलाई बुझाउनुपर्ने पनि बताएका थिए । यस आधारमा यो अपराधमा अरू धेरै उच्चपदस्थको संलग्नताको संकेत अनुसन्धान अधिकारीले पाएका छन् । यसअघि झाको प्रस्ट ठेगाना खुल्न नसकेपछि प्रहरीले उनलाई प्रतिवादी बनाउन सकेन । झाको नेपाल र भारत दुवैतिर नागरिकता रहेको जानकारहरू बताउँछन् । काठमाडौंको बानेश्वरमा घर भएका उनको कांग्रेसका धेरै नेतासँग सम्बन्ध देखिएको छ । ठूला ठेक्कापट्टामा पनि झा संलग्न रहेको उनको चिनजानका व्यक्तिहरू बताउँछन् ।

अनुसन्धानको अन्तिम चरणमा प्रहरीले यो गिरोहमा झाको संलग्नता पत्ता लगाएको थियो । २६ वैशाखमा पक्राउ परेका रामशरण केसीमाथि अनुसन्धान गर्ने क्रममा झाको संलग्नता खुलेको हो । झाले शरणार्थी सूचीमा राखेर विदेश पठाउन राजनीतिक लबिङ गर्ने भन्दै दुई करोड रुपैयाँ लिएका थिए । यस प्रकरणमा अनुसन्धान थालेलगत्तै उनी फरार भएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले थप व्यक्तिमाथि अनुसन्धान अघि बढाउन बुधबार नै प्रहरीलाई निर्देशनात्मक पत्र पठाइसकेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि खुल्न नसकेका विषयमा दोस्रो चरणमा अनुसन्धान सुरु भइसकेको बताए । दोस्रो चरणको अनुसन्धानबाट पूरक अभियोजन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । यो प्रकरणमा थप पीडितहरूको समेत उजुरी आउन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

हालसम्म पक्राउ परेका प्रतिवादीले नाम लिएका, तर अन्य प्रमाण नभेटिएका आठजनामाथि पनि प्रहरीबाट थप अनुसन्धान हुने भएको छ । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसदसमेत रहेका एमालेकै नेता अजयक्रान्ति शाक्य, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेमै आबद्ध राजेश्वर स्थापित छन् ।

फरार १७ जनालाई पक्राउ गर्नु पनि प्रहरीको अबको प्राथमिकतामा छ । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक तथा इन्द्रजित राईका छोरा नीरजसमेत छन् । बिचौलिया बेचन झा तथा पैसा लेनदेनमा सहयोगी भूमिका खेल्ने अन्य १४ जना फरार छन् । जसमा केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनील बुढाथोकी, रमा थापा र गोकुल थापा छन् । रमा र गोकुलको ठेगाना प्रस्ट हुन नसक्दा प्रहरीले उनीहरूविरुद्धको मुद्दा भने अदालतमा पुर्‍याउन सकेको छैन ।

पहिलो चरणमा बुधबार ३० प्रतिवादीविरुद्ध चार मुद्दा दायर भइसकेको छ । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँलगायत उच्चपदस्थ व्यक्ति छन् । उनीहरूविरुद्ध संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध तथा लिखत किर्ते कसुरको मागदाबी गरिएको छ । एकीकृत कसुरसम्बन्धी सजाय तथा संगठित अपराधको प्रावधानअनुसार १५ वर्ष नौ महिना कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ । प्रतिवादीहरूको ओहदा र मुद्दाको गम्भीरताका आधारमा यो प्रहरी इतिहासकै सबैभन्दा ठूलो मुद्दा भएको प्रहरी अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।