NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

केन्द्रीय समिति बैठक अघि देउवा र शेखरबीच कुराकानी, के–के विषयमा भयो छलफल ?

काठमाडौं । नजिकिंदो स्थानीय तहको चुनाव र भ्रातृ संस्थामा नयाँ नेतृत्व चयनका विषयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच कुराकानी भएको छ ।

बुधबार बिहान देउवा र कोइरालाबीच टेलिफोन कुराकानीमा अगामी निर्वाचनको लागि टिकट बाँड्ने संसदीय बोर्ड गठनसहितका विषयमा छलफल भएको हो ।

नेता कोइरालाले संसदीय बोर्ड गठन गर्दा सिनियर नेताहरूलाई नछुटाउन देउवाको ध्यानाकर्षण गराएका थिए ।

‘मुख्यगरी नजिकिंदो चुनावलाई लक्षित गरेर अब कसरी अगाडि बढ्ने भन्नेमा कुराकानी भएको हो’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘टिकट बाँड्ने संसदीय बोर्ड गठन गर्दा सिनियर साथीहरू नछुटुन् भनेर उहाँ(कोइराला)ले सभापतिको ध्यानाकर्षण गराउनुभएको छ ।’ संसदीय बोर्ड गठन, चुनावी तालमेल, भ्रातृ संस्थाको तदर्थ समिति गठनसहितका विषयमा यही ११ चैतमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठकपूर्व सम्भावित छलफलका विषय सहितमा देउवासँग कोइरालाले छलफल गरेका हुन् ।

‘शेखरदाले सबैलाई मिलाएर अघि बढ्न्स सहकार्य गरेर तपाईंलाई सहयोग गरेर जान तयार छु भन्नु भएको छ । तपाईं (सभापति)लाई सफल बनाउन लागिपर्छु भन्नुभएको छ’ थपलियाले भने, ‘जवाफमा सभापतिले सबैसँग सहकार्य गरेर, मिलाएर अघि बढ्छु भन्नुभएको छ ।’

कांग्रेसका नेविसंघ, महिला संघ, तरुण दलसहितका भ्रातृ संस्था यतिखेर नेतृत्वविहीन छ । यसैले यिनीहरू तदर्थ समिति गठन गर्नुपर्ने अवस्था छ । १४ औं महाधिवेशनपछि एक महिनाअघि देउवालाई एकपटक भेटेका थिए । आज भएको कुराकानी दोस्रो हो ।

कांग्रेसमा माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीसँग चुनावी तालमेल गर्ने वा नगर्नेबारे फरकफरक मत छ । संस्थापन पक्ष धेरै ठाउँमा चुनावी तालमेलको पक्षमा छ । तर शेखर पक्ष धेरै ठाउँमा होइन स्थानीय आवश्यकताको आधारमा केही ठाउँमा चुनावी तालमेल गर्नुपर्ने पक्षमा छ । अब बस्ने केन्द्रीय समिति बैठकले चुनावी तालमेलबारे छलफल गरेर टुंग्याउने संस्थापनको तयारी छ ।