ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ३ जना रिहा

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा बुधबार पक्राउ परेका सातमध्ये तीन जनालाई प्रहरीले रिहा गरेको छ ।
रिहा हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।
देउजा, कपाली र केसीले यसअघि नै सर्वोच्च अदालतबाट स्टेअर्डर ल्याएको पाइएपछि छाडिएको सिआइबीले जनाएको छ ।
सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो ।
यही प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई भने प्रहरीले हिरासतमा राखेको छ ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।
प्रतिक्रिया