पाकिस्तानको सिंध प्रान्तमा रेल दुर्घटना, १५ जनाको मृत्यु, कैयौँ घाइते
काठमाडौं । पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ ।
पाकिस्तानको सिंध प्रान्तमा भएको हजारा एक्सप्रेस रेल दुर्घटनामा १५ जनाको ज्यान गएको त्यहाँका रेलमन्त्रीले पुष्टि गरेका हुन् । रेलमन्त्री साद रफिकले कैयौं यात्रु घाइते भएको जानकारी दिए ।
यो घटना सिन्ध प्रान्तको संघार जिल्लाको सरहरी सहरमा भएको हो । मन्त्री रफिकले लाहोरमा पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रेन सही गतिमा दौडिरहेको थियो र यसको गति ४५ किलोमिटर प्रति घन्टा थियो ।’
तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका यसअघि नै गरिएको थियो । अधिकारीहरुका अनुसार रेलका आठ डीब्बा पटरीबाट खसेका र घाइतेहरु यसमा फसेका छन्, उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।
दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीलाई भनेः ‘धेरै यात्रुहरू कोचमुनि दबिएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ ।’ दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय पुगेका र उनीहरुको सहयोगमा यात्रुलाई बाहिर निकाल्ने काम भइरहेको छ ।


प्रतिक्रिया