सर्वोच्चको फैसलापछि राहुल गान्धी सांसद पदमा बहाल
काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी लोकसभा सदस्यमा बहाल भएका छन् ।
राहुल गान्धी केरलाको वायनाडबाट लोकसभा सदस्य हुन् । सन् २०१९ मा राहुल गान्धीले ‘मोदी उपनाम’लाई लिएर अभिव्यक्ति दिएपछि भाजपा सांसद पूर्णेश मोदी राहुलको उक्त अभिव्यक्तिविरुद्व गुजरात उच्च अदालत, सुरत पुगेका थिए ।
त्यस मुद्दामा उच्च अदालतले राहुललाई २ वर्षको सजाय सुनाएको थियो । ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानीको मुद्दामा उनलाई सजाय सुनाइएको थियो । अदालतले सजाए सुनाएको २४ घण्टामै उनको सांसद पद गुमेको थियो । उक्त फैसलाविरुद्व राहुल सर्वोच्च गएका थिए ।
शुक्रबार सर्वोच्च अदालतले उच्च अदालतले गरेको फैसला उल्ट्याउँदै उनको सजायमा रोक लगाएको हो । यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ ।
सर्वोच्चले राहुलको पक्षमा आदेश दिएपछि सोमबार लोकसभा सचिवालयले एक सूचना जारी गर्दै राहुललाई सांसदमा बहाली गरेको बीबीबसी हिन्दीले जनाएको छ । सांसद पद गुमेको १ सय ३७ दिन अर्थात ४ महिना १७ दिनपछि राहुलको पद बहाली भएको हो ।
केरलाको वायनाडबाट राहुल गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।
राहुलको लोकसभा सदस्यता बहालीमा अहिले पार्टीका धेरै नेताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन्। सांसद शशि थरुरले यसलाई न्याय र लोकतन्त्रको जीत भनेका छन् ।
पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले एक भिडियो सेयर गरेका छन्, जसमा उनी र अधीर रञ्जन चौधरी विपक्षी दलका अन्य नेताहरूसँग मिठाई खाँदै र खुवाउँदै गरेको देखिन्छ ।
मल्लिकार्जुन खर्गेले राहुलको सांसदको पुनर्बहालीको स्वागत गरेका छन् । उनले यसले भारतका जनता, विशेष गरी वायनाडका जनतालाई ठूलो राहत दिएको जनाएको छन् ।
राहुलको सांसद पुनर्बहालीको स्वागतमा पार्टीको मुख्यालयमा कार्यकर्ताले ढोल बजाएका थिए ।


प्रतिक्रिया