प्रतिनिधिसभा बैठक बस्दै, ३ सातादेखि अवरोध गर्दै आएको एमालेले आज के गर्ला ?
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण यस अघि तय भएको कार्यसूची अघि बढ्न सकेन । आजको बैठकमा पनि सोही कार्यसूची तय छ । जसमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइने कार्यक्रम छ ।
आजैको बैठकले टोपबहादुर रायमाझीलाई संसद्बाट निलम्बित भएको जानकारी पनि गराउँदैछ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेका रायमाझी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने प्रस्ताव पनि कानून मन्त्री धनराज गुरुङले प्रस्तुत गर्दैछन् ।
यसबाहेक, शिक्षा मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने तथा सभामुखले १० वा सोभन्दा बढी पटक बैठकमा अनुपस्थित सांसदको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
मंगलबारको बैठकमा गृहमन्त्री श्रेष्ठले जवाफ दिएपछि शून्य समय सुरु गर्ने संसद् सचिवालयको तयारी थियो, २२ सांसदले बोल्न नाम टिपाएका थिए । तर प्रमुख प्रतिपक्ष, प्रतिपक्ष, सत्तापक्षका सांसद र गृहमन्त्रीले बोलेपछि कार्यसूची अघि बढ्न सकेन । सुन प्रकरणबारे जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले संसद् बैठकको अवरोध हटाउन आग्रह गरेका थिए ।
सभामुख देवराज घिमिरेले पनि बैठकको कार्यसूची अघि बढाउनका लागि सहयोगको आग्रह गरे । सरकारले जवाफ दिइसकेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले कार्यसूची अघि बढाउन सभामुखलाई अनुरोध गरेका थिए । तर एमाले सांसदले उठेर विरोध गरेपछि बैठक चल्न नसकेको हो ।
साउन १० को बैठकमा एमालेले आफ्ना र सत्तापक्षको सांसदलाई बोल्न दिएपछि बैठकको कार्यसूची अघि बढाउन दिएको थिएन । १५, १६, २२ गते बोलाइएको बैठक दलहरूबीच सहमति नभएका कारण सूचना टाँसेर स्थगन गरिएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया