चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटना

काठमाडौं । रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटना भएको छ ।
उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य रुसको थियो । लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।
अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो । रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना–२५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ । उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो ।
चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले ठानेका छन् । रुसले झन्डै ५० वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।
पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताउने गरेको छ ।
हालसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत तथा रुसबिच प्रतिस्पर्धा चलेको थियो जहाँ भारतको चन्द्रयान–३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा छ ।
यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरिसकेका छन् ।
बीबीसीको सहयोगमा ।
प्रतिक्रिया