आजको प्रतिनिधिसभा बैठक एमालेले अवरोध नगर्ने, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयले जनाए अनुसार आज मंगलबार दिउँसो तीन बजे बैठक बस्ने छ ।
साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आजको बैठक भने अवरोध नगर्ने जनाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सुन प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नेसहमति भएकाले आजको संसद बैठक सन्चालन हुने बताए ।
सोमबार बसेको राष्ट्रिय दलहरूको बैठकले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरिसकेका छन् । छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा९एमाले०का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे सदस्य रहने गरी बैठकले कार्यादेश समिति गठन गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा यसअघि नै तय भएक कार्यसूचीलाई अघि बढाइने संसद् सचिवालयले जनाएको छ । जसमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइने कार्यक्रम छ ।
आजैको बैठकले टोपबहादुर रायमाझीलाई संसद्बाट निलम्बित भएको जानकारी पनि गराउँदैछ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेका रायमाझी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्ने प्रस्ताव पनि कानून मन्त्री धनराज गुरुङले प्रस्तुत गर्दैछन् ।
यसबाहेक, शिक्षा मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने तथा सभामुखले १० वा सोभन्दा बढी पटक बैठकमा अनुपस्थित सांसदको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया