NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

गेस्टाल्ट इन्स्टिच्युट नेपालबाट कोर्स सम्पन्न, नयाँ भर्नाको लागि आवेदन खुल्दै

काठमाडौं । गेस्टाल्ट इन्स्टिच्युट नेपालका पाँच विद्यार्थीहरुले पाँच वर्षे लामो कोर्स सम्पन्न गरेका छन् ।

करिब ७ वर्षअघि चलेको यो तालिम कोरोना महामारीलगायतका समस्याका कारण पछि धकेलिएको थियो । संस्थाले शनिबार राजधानीको नक्सालस्थित अरण्य बुटिक होटलमा एक कार्यक्रमको आयोजना गर्दै कोर्स सम्पन्न गर्ने पाँचजनालाई अभिनन्दन गरेको छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत उनीहरु यो तालिमसँगै आधिकारिक रुपमा गेस्टाल्ट साइकोथरापिस्ट भएका छन् । यसअन्तर्गत सजिना ढुंगाना, दिपेश उपाध्याय, रोसन सिन्तकला, सरिता श्रेष्ठ र भूपेन्द्र गुरुङले कोर्स सम्पन्न गरेका हुन् ।

कार्यक्रममा उनीहरु पाँचैजनाले सिकाइ अवधीभर गेस्टाल्ट साइकोथेरापीलाई कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयोग गरे भन्ने विषयमा प्रस्तुती दिएका थिए । उनीहरुका अनुसार आघात, एन्जाइटीलगायतका मानसिक समस्यालाई हल गर्न पनि यो थेरापीको मद्दत लिन सकिन्छ ।

जसमा ढुंगानाले यो थेरापीको प्रयोगमा एन्जाइटीसँग कसरी जुध्ने भन्नेबारे आफ्ना सिकाइ र भोगाइ प्रस्तुत गरिन् । उपाध्यायले आघातमा भएका व्यक्तिमा यो थेरापीको प्रयोग गर्न सकिने विषयको प्रस्तुतीकरण गरे ।

सिन्तकलाले व्यक्तिले बारम्बार देख्ने सपना, नराम्रा, राम्रा जस्तोसुकै किसिमका सपनालाई पनि गेस्टाल्ट थेरापीको माध्यमबाट समाधानमा पुग्न सकिने विषय अघि सारे । अर्का वक्ता श्रेष्ठले बाल्यवस्थामा भएको आघातबाट मुक्त हुन र शारीरसँगको सम्पर्कमा आउन पनि यो थेरापीले कसरी मद्दत गर्छ भन्नेबारे प्रस्तुती दिएकी थिइन् । गुरुङले गेस्टाल्ट थेरापीले व्यक्तिलाई वर्तमानको अनुभूति दिलाउन कसरी मद्दत गर्छ र यसले मानसिक स्वास्थमा पार्ने प्रभावबारे आफ्नो अनुभव बाँडेका थिए ।

पाँच वर्षको सिकाइलाई आफूले मानसिक स्वास्थ्यको क्षेत्रमा कसरी काम गरें भन्ने विषयमा पाँचैजना वक्ताले अनुभवसहितको भोगाइ प्रस्तुत गरेका हुन् ।

टिपिओ नेपालका सल्लाहकार सुरज कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा अरमेनियाकी गेस्टाल्ट साकोथेरापिस्ट मरिना सेरोब्यानको पनि उपस्थिती थियो । उनी येरेभानस्थित गेस्टाल्ट इन्स्टिच्युटकी निर्देशक पनि हुन् ।

त्यस्तैगरि कार्यक्रममा गेस्टाल्ट इन्स्टिच्युट नेपालका नेपाली प्रशिक्षकहरु अर्चना विभोर, गणेश अम्गाईं, हसाना श्रेष्ठ, मिनाक्षी राना, प्रतिमा ताम्राकार, प्रज्ञा श्रेष्ठ, रुबन दाहाल, शिला श्रेष्ठ, सिता लामा र उपमा पौडेल सहभागी थिए ।

विदेशी प्रशिक्षकहरु बियाट्रिक्स विमर, एरेन्स्ट निफ, फ्रान्स मिउमिस्टर, जियोभनी टुर्रा, ख्रेट कासियर, जोन लियरी जोयस, मरिना सेरोब्यान र टोनी गिलिगनको पनि उपस्थिती थियो ।

हालसम्म संस्थाले १६ जना गेस्टाल्स साइकोथेरापिस्टलाई सर्टिफाइड गरिसकेको छ । सन् २०११ देखि गेस्टास्ट साइकोथेरापीको कोर्स सञ्चालन गर्दै आएको संस्थामा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

संस्थाबाट पहिलो, दोस्रो र तेस्रो ब्याचका विद्यार्थी सर्टिफाइड भइसकेका छन् भने चौथो, पाचौं, छैटौं र सातौं ब्याचका विद्यार्थीहरु अध्ययनरत छन् ।

यो कोर्समा आबद्ध हुन इच्छुकका लागि आउँदो डिसेम्बरमा नयाँ भर्ना खुल्नेबारे पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष