बाइस वर्षपछि मिसन अस्पताल सञ्चालनको तयारी
पर्वत । झण्डै २२ वर्षदेखि बन्द रहेको यहाँको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका-४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो ।
अस्पतालका जीर्ण संरचना हाल पुनःनिर्माण भइरहेका छन् । काठमाडौँस्थित देउराली फाउन्डेसनले पुनःनिर्माणको काम थालेको हो । स्थानीय सरोकारवाला व्यक्ति, सङ्घसंस्था र स्थानीय सरकारसँगको पटकपटकको छलफलपछि फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम अघि बढाएको पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए ।
फाउन्डेसनले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाको काम थालेको छ । भवन मर्मत, रङ्गरोगन, विद्युतीकरणलगायत काम गर्न थालिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
अहिले भएका काममा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेन्ट नेपालीसँगै काम गरिरहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सकको समूहले स्थानीय साझेदारसँगको सहकार्यमा २०५० सालमा मिसन अस्पताल स्थापना गरिएको हो । आठ वर्ष मात्र सञ्चालन भई अस्पताल २०५८ सालमा बन्द भएको थियो ।
पर्वत, स्याङ्जा र गुल्मीका बिरामीलाई लक्षित गरी १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा अस्पताल निर्माण गरेको हो । अस्पताल पुनः सञ्चालनमा आउने खबरले उत्साहित बनाएको स्थानीय लालबहादुर प्रधानले बताए ।
ताजा अपडेट
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना


प्रतिक्रिया