NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३’ सुरु भएको छ ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय सांस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण सावित हुने अपेक्षा व्यक्त गरे । उनले मानव सभ्यताको विकास र प्रगतिका लागि चीन सदैव कटिबद्ध रहने बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक पढ्नु आफैलाई ताजगीकरण गर्नु भएकाले राज्यले पुस्तक नीतिलाई मस्यौदामा सीमित नराखी नीति जारी गर्न आग्रह गरे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले भारत र चीनजस्ता बढी जनसङ्ख्या र पठन संस्कृतिको छिमेकी रहेको नेपालले ठीक संस्कृतिलाई बढाएर विकास र समृद्धिमा टेवा दिन सक्ने बताए ।

कार्यक्रममा दृष्टिविहीनको स्वास्थ्योपचारमा ख्याती कमाएका डा सन्दुक रुइतलाई सम्मान घोषणा गरिएको थियो । यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशसहितलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको महासङ्घका अध्यक्ष सञ्जय चौधरीले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष