NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सुरक्षा परिषदमा अमेरिकाको भिटो, गाजामा युद्धविरामको प्रस्ताव असफल

काठमाडौं । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ। अमेरिकाले भिटो प्रयोग गरेपछि उक्त प्रस्ताव असफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा संयुक्त अरब इमिरेट्सले गाजामा युद्धविराम गर्ने प्रस्ताव राखेको थियो । जसमा सुरक्षा परिषद्‌का १५ राष्ट्रमध्ये १३ ले प्रस्तावको पक्षमा मतदान गरे भने बेलायत अनुपस्थित तथा अमेरिकाले भिटो प्रयोग गर्यो । अमेरिका सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये एक हो । यस्ता कुनै एक राष्ट्रले परिषद्मा भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ।

अमेरिकाले यूएईको प्रस्ताव असन्तुलित र अवास्तविक रहेको तर्क गर्दै भिटो प्रयोग गरेको हो । अक्टोबर ७ मा गरिएको हमासको आक्रमणको निन्दा नगरिएको र विना सर्त युद्धविराम गर्ने संयुक्त अरब इमिरेट्सको प्रस्तावप्रति उसले सबैभन्दा ठूलो असहमति जनाएको छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित एक हजार दुई मानिसको ज्यान गएको थियो ।

अमेरिकाले पर्याप्त तयारी नगरी हतारमा प्रस्ताव ल्याएको टिप्पणी पनि गरेको छ । इजरायलले आतंकवादी आक्रमण सहनुपर्ने मर्म प्रस्तावले बोकेकाले कुनै पनि आतंकवादले ठाउँ बनाउन सक्ने तर्क पनि अमेरिकाको छ । यससम्बन्धमा आफूहरूले गरेको सिफारिसलाई बेवास्ता गरिएको अमेरिकी प्रतिनिधिको भनाइ छ ।

प्यालेस्टाइनले भने अमेरिकाको कदमप्रति असन्तुष्टि जनाएको छ । आफ्नो देशका नागरिक जीवन मरणको दोसाँधमा रहेको उल्लेख गर्दै उसले उनीहरू बाँच्नका लागि लायक रहेको जनाएको छ । ‘लाखौं प्यालेस्टिनीहरू जीवन मरणको दोसाँधमा छन्। ती हरेक बाँच्नका लागि लायक छन्,’ उसले भनेको छ ।