बुचाबाट जेलेन्स्कीले भनेः ‘रुसले यहाँ के गरेको छ विश्वले देख्नुपर्छ’

बुचा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभनजिकैको बुचा नगरमा रुसले तीन सय आम नागरिकको हत्या गरेको आरोप लगाएका छन् ।
युद्ध सुरु भएदेखि झन्डै एक महिनासम्म रुसको कब्जामा रहेको बुचामा रुसले गरेको युद्ध अपराधको प्रमाण भेटिएको जेलेन्स्कीको भनाइ छ । जेलेन्स्कीले भने, ‘रुसले जे गरेको छ, त्यो सबैको हामीले जाँच गरिरहेका छौं ।’
सोमबार जेलेन्स्कीले बुचा सहरको निरीक्षण गरे । जेलेन्स्कीले सोमबार बुचामा पत्रकारहरूलाई भने, ‘तपाईंहरूले संसारलाई यहाँ के भइरहेको थियो, रूसी सेनाले के गरिरहेको थियो, रूसी शासन के गरिरहेको थियो भनेर विश्वलाई देखाउनु हुनेछ भन्ने आशा राखेका छौं ।’
‘यो सहरमा मानिसमाथि जनावारलाई भन्दा पनि खराब व्यवहार गरिएको छ, यो रुसी सेनाको विशेषता हो,’ जेलेन्स्कीले पत्रकारहरूलाई भने, ‘यी युद्ध अपराधहरू हुन् र संसारले नरसंहारको रूपमा पहिचान गर्न आवश्यक छ ।’
‘बुचामा मात्रै तीन सयभन्दा धेरै मानिसलाई मार्ने र प्रताडित गरेको घटना सार्वजनिक भएको छ । पुरै सहरमा यो संख्या बढ्न सक्ने सम्भावना छ । युक्रेनका अन्य सहरभरि नै यो अवस्था छ,’ उनले भनेका छन् ।
जेलेन्स्कीका अनुसार रुसको कब्जामा रहेका बोरोडियाका र अन्य केही सहरहरुमा पीडितको संख्या अझै धेरै छ ।
President Zelensky visited the scenes of Russian atrocities outside Kyiv today.
“With my own eyes I saw Bucha, Irpin, Stoyanka after the occupation. We will do our best to bring them back to life as soon as possible,” he said on Telegram.
📸 via his office pic.twitter.com/XsGSkvZbm4
— Christopher Miller (@ChristopherJM) April 4, 2022
‘किएभ, चेर्निभ र सुमी प्रान्तका केही जिल्ला विभिन्न गाउँहरु रुसको नियन्त्रणमा थिए । रुसी सेनाले स्थानीय मानिसहरुसँग गरेको जस्तो कु्रर व्यवहार ८० वर्ष अगाडि नाजीको नियन्त्रणमा हुँदा पनि देखिएको थिएन, उनले सञ्चारमाध्यमसँग भनेका छन् ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि बुचामा सर्वसाधारणको हत्या मामिलामा आपराधिक मुद्दा चलाउने बताएका छन् । उनले पुटिनलाई ‘क्रुर’ भनेका छन् ।
प्रतिक्रिया