NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

युक्रेन युद्ध : बुचाबाट देखिएकाे विभत्स दृश्य

किएभ । बुचा सहर किएभलाई घेरा हाल्ने र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकारलाई पतन गर्ने रुसको सपनाको चिहान थियो । फेबु्रअरी २४ मा रुसले युक्रेनमा आक्रमण गर्न सुरु गरेको दुई तीन दिनपछि युक्रेनी सेनाले बुचाबाट किएभतर्फ बढिरहेको रुसी ट्यांक र बख्तरबन्द सवारीलाई नष्ट गरिदिएको थियो ।

शुक्रबार बुचाबाट रुसले आफ्ना पुरै सेना फिर्ता बोलायो । यो कदम पूर्वी युक्रेनको युद्धमा ध्यान केन्द्रित गर्ने क्रेमलिनको शान्त र तर्कसंगत निर्णय मानिएको छ । रुसले मध्य युक्रेनमा युद्धको आफ्नो लक्ष्य हासिल गरेको र उसको उद्देश्यमा किएभ कब्जा गर्नु कहिल्यै समावेश नभएको बताएको छ । तर युक्रेनतर्फबाट अप्रत्याशित रुपले भएको प्रतिरोध, टक्कर र सुव्यवस्थित विरोध रुसले अपेक्षा गरेको थिएन । युक्रेनले रुसलाई राजधानी किएभबाहिर नै रोक्यो ।

बुचाका सडकहरु साँघुरो र सीधा छन्, एम्बुस वा गुप्त आक्रमणका लागि उपयुक्त छन् । युक्रेनले टर्कीबाट खरिद गरिएको बायरख्तर अट्याक ड्रोनले रुसी सेनामाथि आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार युक्रेनी सेनासँगै स्वयंसेवक लडाकुहरु पनि थिए । युक्रेनले रुसी सेनालाई रोक्न सफल भए पनि रुसका मुख्य गाडीहरु ध्वस्त भए तर भग्नावशेष पनि फेला परेका छैनन ।

बुचाबाट देखिएका तस्बिर र भिडियोमा शवहरु सहर र पछाडिका गल्लीहरुमा पछाडि हात बाँधिएको अवस्थामा त्यसै छोडिएको देखिएको थियो ।

३७ हजार मानिस बसोबास गर्ने बुचा नगरमा र नजिकैको इरपिन सहरमा रुसले युद्ध सुरु गरेदेखि भयंकर लडाईँ भएको थियो । बुचा युद्धको तेस्रो दिन फेबु्रअरी २६ मा रुसी सेनाले कब्जा गरेको थियो र रुसी सेना एक महिनाभन्दा बढी त्यहाँ रहे । त्यहाँ बिहीबारमात्रै गोलीबारी बन्द भयो र त्यसपछि युक्रेनी सेना बुचा प्रवेश गरे ।

आइतबार युक्रेनी सेनाले त्यहाँ सडकमा लडिरहेका २० वटा शव देखे । उनीहरुको हात पछाडि बाँधिएको थियो । बुचाका मेयर अनातोली फेडोरुकले पीडितहरुलाई रुसी सेनाले गर्धनमा गोली हानेर मारेको एएफपी संवाददातालाई बताएका थिए ।

त्यसबाहेक सामूहिक चिहानमा ५७ जनाको शव फेला परेको स्थानीय उद्धार प्रयासका प्रमुख सेर्ही कप्लिचनीले एएफपीलाई शव राखिएको खाडल देखाउँदै भनेका थिए । मेयर फेडोरुकका अनुसार उनीहरुले २८० जनाको सामूहित अन्तिम संस्कार गरेका छन् ।

बुचाबाट देखिएका तस्बिर र भिडियोमा शवहरु सहर र पछाडिका गल्लीहरुमा पछाडि हात बाँधिएको अवस्थामा त्यसै छोडिएको देखिएको थियो । एउटा अमेरिकी प्रविधि फर्मले बुचामा सामूहिक चिहान पत्ता लगाएको ठाउँमा ४५ फुट गहिरो खाडल रहेको भूउपग्रहका तस्बिरले देखाएको जनाएको छ ।

आइतबार बुचा पुगेका किएभका नगरप्रमुख भिताली क्लित्च्कोले एएफपीलाई बताएअनुसार अहिलेसम्म त्यहाँ कति मानिस मारिए भन्ने पुष्टि भइसकेको छैन । ‘कम्तिमा ३०० आम नागरिकको हत्या भएको छ’ उनले भने, ‘यो युद्ध होइन, नरसंहार हो, युक्रेनी नागरिकको नरसंहार ।’

यस क्षेत्रमा बस्ने स्थानीयहरुले आफूहरु रुसी सेनाबाट बच्न कोशिस गरेको बताएका छन्, ‘यहाँ बिजुली र ग्यासको आपूर्ति थिएन, हामीले घरका सामानहरु बालेर खाना बनायौं ।’

विश्वको सबैभन्दा ठूलो परिवहन विमान मार्रया रुसको सेनाले त्यहाँ सुरुमै नष्ट गरिदिएको थियो । उक्त विमान युक्रेनको गौरवको प्रतीक थियो, युक्रेनको क्षमताको प्रतीकका रुपमा यसलाई पेश गरिन्थ्यो । अहिले विमान टुक्रा टुक्रा परेर जमिनमा लडिरहेको छ, यो विमान नै समग्र युक्रेनको हालतको रुपमा हेरिएको छ ।

युक्रेनमा अहिलेसम्म युद्धका कारण ३ हजार ४ सय ५५ नागरिक मारिएको एवं घाइते भएको संयुक्त राष्ट्र संघले बताएको छ । जसमा १ हजार ४ सयभन्दा बढी मारिएका छन् भने २ हजार जना घाइते भएका छन् । सबैभन्दा ठूलो हताहत पूर्वमा डोनेट्स्क र लुहान्स्क क्षेत्रहरुबाट रिपोर्ट गरिएको छ । ती राज्यले आफूलाई स्वतन्त्र गणतन्त्र घोषणा गरेका छन्, जसलाई रुसले मान्यता दिएको छ ।

बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कन, जर्मनी, फ्रान्स, बेलायत, नेटोका नेताहरुले बुचामा रुसले गरेको नरसंहारले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी सेना फिर्ता भएपछि बुचाबाट बाहिर आएको तस्बिरमा देखिएको ‘सर्वधारणविरुद्धको कु्ररता’ हामीले दशकौंदेखि युरोपमा नदेखेको बताएका छन् ।

 एजेन्सीकाे सहयाेगमा

बुचामा रुसले ‘नरसंहार’ गरेको युक्रेनको दाबी

ताजा अपडेट

नेपालवाच विशेष