बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने
काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज सो निर्देशन दिएका हुन् । गृहमन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्नेछ ।
सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ । आयोगले सोमबारदेखि नै काम गर्नेछ ।
मन्त्री ज्वालाले पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ ।’
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।
गृहमन्त्रालयले सोही दिन नै सो घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ । सरकारले शनिबार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र इपिएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया