अख्तियारले माग्यो भ्रष्टाचार नियन्त्रणमा सहयोग पु–याउने लेख–रचना, उत्कृष्टले पुरस्कार पाउने
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सञ्चारमाध्यममा प्रकाशित सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा योगदान पुर्याउने उत्कृष्ट समाचार तथा लेखलाई पुरस्कृत गर्ने भएको छ ।
यही माघ २८ गते परेको आफ्नो स्थापना दिवसको अवसरमा आयोगले पत्रपत्रिका, अनलाइन, रेडियो, टिभीमा यसअघि प्रकाशित उत्कृष्ट समाचार तथा विचारलाई पुरस्कृत गर्न लागेको हो ।
त्यसका लागि पत्रकार तथा लेखकसँग समाचार तथा लेख मागिएको आयोगले जनाएको छ । लेख तथा समाचार आयोगको केन्द्रीय कार्यालय वा इमेल ठेगानामार्फत उपलब्ध गराउन सकिनेछ ।
बिहीबार एक सूचना प्रकाशित गर्दै आयोगले माघ १९ गते ४ बजेसम्म त्यस्ता सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । त्यस्ता सामग्री नेपाली र अंग्रेजीमा लेखिएको हुनु पर्नेछ । लेख ७०० शब्दको हुनुपर्नेछ भने समाचारको हकमा शब्दको सीमा तोकिएको छैन ।
स्थापना दिवसकै अवसरमा आयोगले निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गर्दैछ । आयोग मातहतका सात वटा कार्यालयमार्फत कक्षा ९ देखि कक्षा १२ कक्षासम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध लेखनमा सहभागी हुन आयोगले विद्यार्थीहरूलाई आग्रह गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगीलाई कार्यालयस्तरमा नै पुरस्कृत गरिने आयोगले जनाएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया