NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

छानविन समितिद्वारा एसपीसहित सात प्रहरीसँग सोधपुछ

काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रिय स्टोरमा सोमबार भएको आगलागी घटनाबारे छानविन गर्न गठित आन्तरिक समितिले काम सुरु गरेको छ ।
आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानविन समिति गठन गरिएको थियो । सो समितिले मंगलबार बिहानै देखि घटनास्थललाई सिल गरेको छ भने सुरक्षाको लागि नयाँ टोली राखिएको छ ।

यसका साथै आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्य समेत तिब्र रुपमा अघि बढाईएको र प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याई सिल गरि सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ । समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेखहरुको अध्ययन गरि के–कति सामान रहको र कति क्षति भएको भन्ने विवरण समेत संकलन गरिरहेको छ ।
यसका साथै भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई समेत भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटिमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि मुख्यालय झिकाईएको छ ।

सो स्टोरको सुरक्षार्थ राखिएको सिसि क्यामेराको फुटेज समेत समितिले अध्ययन गरिरहेको छ । सो फुटेजमा भवनको विचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्ड भित्र नै ठुलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको छ । सो आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन् ।
सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेकोमा केही बर्ष अघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो । केही फ्रि स्केलका सामान भण्डारण गरिएको र त्यसको पूर्ण प्रक्रिया समाप्त नभएकोले मातहत कार्यालयमा पठाउने तयारीको अवस्थामा अचानक आगलागी भएकोले कर्मचारीको लागि वितरण गर्ने सामान जलेर नष्ट भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष