विद्युत् प्राधिकरणले तारन्तार बोलाउँदा पनि चार व्यक्तिले बुझेनन् नियुक्तिपत्र

काठमाडौं । देशमा विगत वर्षहरूदेखि नै बेरोजगारी समस्या चर्को छ । यही कारण दैनिक हजारौं युवा विदेशिन बाध्य छन् । यस्तो डरलाग्दो प्रवृत्तिले देश नै रित्तिने र यसले भयावह अवस्था सिर्जना हुने संशय पछिल्लो समय व्याप्त छ ।
यो समस्या विकराल बन्नुमा विभिन्न पक्षले काम गरेको भए पनि राज्य तथा सरकार सञ्चालकलाई अलिक बढी दोष दिने गरिन्छ ।
के सार्वजनिक रूपमा चर्चा गरिएजस्तै देशमा रोजगारी नभएकै हो त ? सक्षम अनि क्षमतावान् व्यक्तिका लागि पनि देशभित्र अवसर कमी भएको हो ?
लोक सेवा आयोगले सञ्चालन गरेको एउटा परीक्षाको नतिजाले भने सक्षम व्यक्तिका लागि देशभित्र रोजगारीको कमी नभएको बरु फालाफाल रहेको देखाएको छ ।
प्रसंग नेपाल विद्युत् प्राधिकरणको हो । आयोगले केही महिनाअघि प्राधिकरणको विभिन्न पदको परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये तह–५ को सुपरभाइजरको लिखित तथा अन्तर्वार्ताबाट मुकेश दास र कुशुमराज पन्थी तथा तह ४ को फोरमेनमा रेखा शाही र आशिष मेहता छनोट भएका थिए । प्राधिकरणको प्रशासन निर्देशनालय, जनसाधन विभागका अनुसार, स्थायी सेवामा छनोटपछि उनीहरूलाई नियुक्तिका लागि सार्वजनिक सूचनामार्फत नियुक्तिपत्र बुझ्न बोलाइएको थियो । प्राधिकरणले नियुक्तिपत्र बुझ्ने सूचना जारी गरेलगत्तै अधिकांश उम्मेदवारले नियुक्तिपत्र बुझेर काम नै थालिसकेका छन् । तर उनीहरू भने दिइएको समय घर्किसक्दासमेत सम्पर्कमा आएका छैनन् ।
स्थायी सेवामा छनोट भएका उम्मेदवार नियुक्तिपत्र लिन नआएपछि प्राधिकरणले शुक्रबार पुनः अर्को सूचना जारी गरेर ताकेता गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ को विनियम ३४(२) बमोजिम अर्को सूचना जारी गरेर उनीहरूलाई नियुक्तिपत्र बुझ्न बोलाइएको हो ।
लोक सेवा आयोगका सबै परीक्षा उत्तीर्ण गरेर प्राधिकरणको स्थायी सेवामा चयन भएका उम्मेदवार नियुक्तिपत्र बुझ्न नआएको पहिलो घटना भने होइन । यसअघि पनि विभिन्न पदमा चयन भएर उम्मेदवार नियुक्ति पत्र बुझ्न नआएपछि प्राधिकरणले यसैगरी सूचना जारी गरेर नियुक्तिका लागि आह्वान गरेको थियो । जानरकारहरूका अनुसार, माथिल्लो तहमा नाम निकालिसकेका कारण छनोट भएका उम्मेदवार नियुक्तिपत्र बुझ्न आउने गरेका छैनन् ।
प्रतिक्रिया