कालिकामा छ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै
नारायणगढ । चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।
चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो ।
नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाईभैँसीसहित करिब छ हजार पशुलाई खोप लगाइने छ । गत साउन २५ देखि भदौ १५ गतेसम्म पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
नगरभित्रका पाँच हजार आठ सय पशुलाई केही महिनाअघि खोरेत विरुद्घको खोप र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइसकिएको पौडेलले जानकारी दिए । कालिकामा किसानको गोठगोठमा पुगेर अन्य समयमा पनि पशुको अवस्थाबारे जानकारी लिँदै आइएको उनले बताए ।
किसानका गोठगोठ पुगेर पालिकाका ११ वटा वडामा एकै साथ लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिएको पशु सेवा शाखाका अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिकसहित दुई हजार पाँच सय मात्रा खोप प्राप्त भएको र बाँकी खोप र प्राविधिक नगरपालिकामार्फत व्यववस्थापन गरिएको छ ।
अभियानमा पालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीको साथ र सहयोग रहेको पौडेलको भनाइ छ ।
“नगरका तर्फबाट १२ जना प्राविधिक खटाएका छौँ । यहाँका सहकारी र स्थानीय पनि आवश्यक सहयोग गरेकाले खोप अभियान सञ्चालन गर्न सहज भएको छ । किसानको गोठमै पुगेर खोप लगाइरहेका छौँ”, उनले भने । अभियान एक सातासम्म सञ्चालन हुने उनले जानकारी दिए ।
पौडेलका अनुसार चालु आवको सुरुमा कालिकामा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु मरेका थिए । कूल पशुको सात प्रतिशतमा यसको सङ्क्रमण भएकोे थियो ।
“गत साउनमा बेलैमा खोप अभियान थाल्दा धेरै पशुको क्षति हुन पाएको थिएन”, उनले भने, “यस वर्ष सङ्क्रमण हुनुअघि नै खोप लगाउँदा सङ्क्रमणको जोखिम कम गर्न सकिने विश्वास लिएका छौँ ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया